श्रीलंकामा भीषण बाढी : ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता छन्।

डिजास्टर म्यानेजमेन्ट सेन्टर (डीएमसी) का अनुसार, श्रीलंकाको चिया बगान भएको बदुल्ला जिल्लामा राति आएको पहिरोमा २१ जनाको ज्यान गएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बाढीको पानीले घरहरू बगाएर लगेको देखिन्छ। प्रभावित परिवारका लागि अस्थायी आश्रयस्थलहरू तयार पारिएका छन्।

यसैबीच, शुक्रबार थप खराब मौसमको सम्भावनासँग जुध्नका लागि श्रीलंका तयारी गरिरहेको छ, किनकि ‘दित्वाह’ चक्रवात यसको पूर्वी तटतर्फबाट अगाडि बढिरहेको छ।विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार बाढीका कारण हजारौ मानिसहरु विस्थापित भएका छन् ।

डीएमसी केन्द्रको पछिल्लो प्रतिवेदन अनुसार, चरम मौसमी प्रकोपले १७ वटा जिल्लाहरूमा असर गरेको छ भने एक हजार १५८ परिवारका करिव चार हजार व्यक्तिहरू प्रभावित भएका छन् । डीएमसीले १० जना घाइते भएको, तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएको र ३८१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको जनाउदै कम्तीमा १३१ जनालाई अस्थायी सुरक्षित केन्द्रमा सारिएको उल्लेख गरेको छ ।

निरन्तरको वर्षाले मध्य र पाहाडी क्षेत्रहरूमा थप बाढी र पहिरो निम्त्याई सडक बन्द हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।

मौसमी अवस्था बिग्रँदै जाँदा परीक्षा विभागले बिहीबार, शुक्रबार र शनिबारका लागि निर्धारित विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्ने घोषणा गरेको छ । भारी वर्षाले गर्दा थुप्रै जिल्लामा यातायात अवरुद्ध भएको छ भने प्रमुख सडकहरू बन्द छन् ।

  • १२ मंसिर २०८२, शुक्रबार १२:५७ प्रकाशित