काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्यालले पुनः द्वन्द्ध दोहोरिने किसिमका विषय काबुमै राख्न सफल भएको बताएका छन् ।
राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उनले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताए ।
‘होस्टालिटीको अवस्था निरन्तर नहोस् । देशको विद्यमान कानुन जे छ त्यो शासन मुताबिक यथावत रूपमा चल्नुपर्छ,’ उनले भने, ‘द्वन्द दोहोरिने कुरा धेरै हदसम्म हामीले अहिले काबु भित्र राखेका छौँ ।’
उनले त्यसका लागि राजनीतिक दल र जेनजी समूहबिच संवाद चलिरहेको जानकारी दिए । मन्त्री अर्यालले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले लुटिएका हतियार र फरार कैदीबन्दीको व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको जानकारी समेत दिए ।
साथै प्रहरीको मनोबल बढाउने र क्षतिग्रस्त कार्यालयको पुनःनिर्माणमा नागरिक सहयोग प्राप्त भएको उनको भनाइ छ । उनले जनताले सुरक्षित वातावरणमा मतदान गर्न पाउने विश्वास व्यक्त गरे ।
मन्त्री अर्यालले विभिन्न समूहले विविध माग राखी प्रदर्शन, धर्ना, जुलुस र बिरोधलगायतका कार्यक्रम गरिरहेको गतिविधिको सुक्ष्म निगरानी र समन्वयात्मक रूपमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको समितिलाई जानकारी दिए ।रासस















