पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर-४ ले बर्षेनी आयोजना गर्दै आएको यःमरी महोत्सवको छैटौं संस्करण यही १३ मंसिरको शनिबार हुने भएको छ । यःमरी पुन्ही अर्थात यमरी पूर्णिमाको अवसरमा आयोजनामा हुने यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता हुने बुधबार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिइएको हो । महोत्सव पोखरा-४ गणेशटोलको सडक क्षेत्रमा हुने पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए ।
महोत्सव अघि झाँकीसहितको ¥याली निकालिने जनाइएको छ । पोखरा९४ को कार्यालयबाट शुरु हुने ¥याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोलहुँदै गणेशटोलमा पुगेर उद्घाटन समारोहमा परिणत हुने वडाध्यक्ष पराजुलीले जानकारी दिए । ¥यालीमा सहभागिहरु मध्ये प्रथम हुने, द्वितीय र तृतीय हुनेलाई पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए । यःमरी प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
अध्यक्ष पराजुलीले संस्कृति संरक्षण, सम्बद्र्धन र प्रर्वधन गर्नका लागि यःमरी महोत्सव गर्न लागिएको बताए । सडक, पानी, वत्ती मात्रै विकास होईन, उनले भने, ‘संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नुपनि विकास हो ।’ उनले पोखराको रामकृष्णटोलदेखि गणेशटोल, भीमसेनटोल, मोहरिया टोलहुँदै बागबजारसम्मको क्षेत्र नेवारी परम्परा र संस्कृतिको ऐतिहासिक ठाउँ भएकाले यसको संरक्षणका देखिने गरि नै काम हुने बताए ।
महोत्सवमा यःमरी बनाउने प्रतियोगितासहित यःमरी बनाएको लाईभ डेमोष्ट्रेसन गरिने नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले बताईन् । महोत्सवमा यःमरीको प्रदर्शनी तथा बिक्रीसहित विभिन्न नेवारी परिकारहरुको प्रदर्शनी तथा विक्री गरिने उनले जानकारी दिईन् । उनका अनुसार महोत्सवमा यःमरीसहित नेपाली पिज्जा, बारा, सेलरोटी, समयबजीलगायतका परिकारहरुको स्टल रहनेछन् । त्यसबाहेक स्थानीयले उत्पादन गरेका मोजा, गलबन्दीलगायत जुत्ता, चप्पल तथा कपडाका स्टलपनि रहने अध्यक्ष बज्रचार्यले बताईन् । उनकाअनुसार महोत्सवमा नेवारी परिकारका ६ वटा स्टल रहनेछन् । महोत्सवमा बिक्री गरिने चाकुको यःमरीलाई ८० र खुवाको यःमरीलाई १ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।














