आहा ! रारा पोखरा गोल्डकपको २५ औं संस्करण माघ २७ देखि हुने

केन्द्रभाग मिडिया

पोखरा ।

आहा १ रारा पोखरा गोल्डकपको २५ औं संस्करण आगामी माघ २७ गतेबाट सुरु हुने भएको छ । गोल्डकप माघ २७ गतेदेखि फागुन ९ गतेसम्म आयोजना हुने आयोजक सहारा क्लव पोखराले आज सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

प्रतियोगितामा यस वर्ष पनि १२ टिमले सहभागिता जनाउने भएका छन् । जसमा तीन विदेशी क्लब, ए डिभिजन क्लवहरु र आयोजक सहारा क्लव सहभागि हुने अध्यक्ष केशबबहादुर थापाले बताए । आयोजक सहाराले पोखरासँग भगिनी सम्बन्ध बनाएका सहरबाट टिम ल्याउने जनाएको छ । जसका लागि पोखरा महानगरपालिकासँग सहकार्य गर्ने थापाले उल्लेख गरे ।

पोखरासँग चीनको कुन्मिङ, ग्वाञ्झाओ, छुसाओ, युविन, नानिङ, हाईकाओ, जापानको कोमागाने र होकुतो, टर्किको आडालर, दक्षिण कोरियाको ग्यानबुकगुसँग भगिनी सम्बन्ध बिस्तार गरेको छ । तिनै भगिनी सम्बन्ध गाँसिएका सहरहरुबाट टिम ल्याउन प्रयास गरिने उनको भनाई छ ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले नै निरन्तरता दिने जनाइएको छ । हिमश्री फुड्सले १० वर्षका लागि पहिले नै सम्झौता गरिसकेको छ ।

यसैबीच, क्लवले नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा हालै आयोजना गरेको च्यारिटी डिनरबाट १७ लाख ४१ ह्जार रुपैयाँ बचत गरेको जनाएको छ ।

क्लवद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीको सहयोगार्थ गत कात्तिक १४ गते आयोजित च्यारिटी डिनरमा कुल २४ लाख १९ हजार १ सय ७७ रुपैयाँ आम्दानी भएकोमा ६ लाख ७७ हजार ५ सय ५१ रुपैयाँ खर्च भई सो रकम बचत भएको अध्यक्ष थापाले जानकारी दिए । क्लवका अनुसार च्यारिटी डिनरमा टिकटबाट १० लाख ८७ हजार ५ सय रुपैयाँ संकलन भएको थियो भने १० लाख ८९ हजार ६ सय ७७ रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

सो डिनरमा घोषित रकममध्ये २ लाख ४२ हजार उठ्न बाँकी रहेको क्लवका बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।

  • ८ मंसिर २०८२, सोमबार १६:२५ प्रकाशित