सुर्खेतको काँक्रेविहार जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिए युवायुवती

केन्द्रभाग मिडिया

Symbolic picture

सुर्खेत ।

सुर्खेतको काँक्रेविहार जंगलमा झुन्डिएको अवस्थामा युवायुवती मृत भेटिएका छन् ।

वीरेन्द्रनगर नगरपालिका–९, मा रहेको काँक्रेविहार जंगलमा सोमबार बिहान करिब ११ : ३० बजे ती युवायुवती मृत अवस्थामा भेटिएका हुन् ।

जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार उनीहरू जंगलको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

मृतकहरूको नाम, थर र ठेगाना सहितको पहिचान भने हालसम्म खुल्न सकेको छैन । मृतक युवक अन्दाजी २१ वर्ष र युवती २० वर्षको रहेको प्रहरीको अनुमान छ । घटनाबारे जानकारी प्राप्त भए लगत्तै इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

पछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा ५ जनाको अर्को टोली पनि घटनास्थलमा खटाइएको डीएसपी बुढथापाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान गरिरहेको र शवको मुचुल्का तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

  • ८ मंसिर २०८२, सोमबार १४:२५ प्रकाशित