स्याङ्जा ।
स्याङ्जा जिल्लाको कुल क्षेत्रफल एक लाख १६ हजार चार सय हेक्टर हो । कुल क्षेत्रफलको कृषियोग्य जमिन ७२ हजार ७३१ हेक्टरमध्ये ५० हजार ३५० मा खेती गरिन्छ भने २२ हजार ३८१ हेक्टर जमिनको क्षत्रेफल बाँझो छ । खेतीयोग्य जमिन बाहेक कुल क्षेत्रफलमा बाँकी रहेको ४३ हजार ६६९ हेक्टर जमिन वनजंगल, बुट्याँन, चरन क्षेत्र हुन् । यही तथ्याङ्क जिल्लास्थित सरकारी निकायले प्रकाशन र वस्तुगत विवरणमा उल्लेख गर्दै आएका छन् ।
त्यही तथ्याङ्कलाई माथ खुवाउने गरी पछिल्लो समय स्याङ्जामा खेतीयोग्य जमिनको क्षेत्रफलसँगै उत्पादन घटेको तथ्याङ्क सार्वजनिक गरिएको छ । कुल खेतीयोग्य जमिन ७२ हजार ७३१ बाट घटेर ३४ हजार ८६१ हेक्टर क्षेत्रफलमा झरेको पछिल्लो आर्थिक वर्ष २०८१/०८२ को तथ्याङ्कमा उल्लेख छ । खेती गरिने जग्गाको क्षेत्रफल ५० हजार ३५० बाट घटेर २८ हजार २८२ हेक्टरमा सिमिति भएको छ तर मुख्य खाद्यान्न बाली सहित फलफूल लगाउने जमिनको क्षेत्रफल भने ३२ हजार ७६९ हेक्टर रहेको सार्वजनिक गरिएको हो ।
जिल्लामा मुख्यबाली बर्खेधान, चैतेधान, मकै, गहुँ, कोदो र दलहन बाली लगाउने जग्गाको क्षेत्रफल र उत्पादनमा गिरावट आएको छ भने आलु, फलफूल, तरकारी, मसला र तेलहन बाली लगाउने जमिनको क्षेत्रफलसँगै उत्पादनमा वृद्धि भएको पछिल्लो आर्थिक वर्षलाई अध्ययन गरेर कृषि ज्ञान केन्द स्याङ्जाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक वर्ष २०७८/०७९ को तथ्याङ्कले मुख्य बालीतर्फ बर्खेधान १५ हजार १४७ हेक्टरमा ५६ हजार ४३ मेट्रिकटन उत्पादन हुँदै आएकोमा पछिल्लो तथ्याङ्क अनुसार ९ हजार ७२ हेक्टरमा ३६ हजार ५६० मेट्रिकटन धान उत्पादन हुँदै आएको जनाइएको छ । एक हजार २४० हेक्टर क्षेत्रफलमा चार हजार ७१२ मेट्रिकटन उत्पादन हुँदै आएको चैतेधान ६७ हेक्टरमा ३०६ मेट्रिकटन मात्रै उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख बिनोद हमालले बताए ।
मुख्य खाद्यान्नतर्फकै मकै बाली २६ हजार ५१० हेक्टरमा लागउँदा ८४ हजार ८३२ मेट्रिकटन उत्पादन हुने गरेकोमा पछिल्लो समय जिल्लामा १५ हजार ५४४ हेक्टरमा ४९ हजार २७५ मेट्रिकटन उत्पादन हुन्छ भन्ने तथ्याङ्क सार्वजनिक गरिएको छ । पाँच हजार ५६० हेक्टर क्षेत्रफलमा १० हजार मेट्रिकटन उत्पादन हुने गहुँ खेती घटेर दुई हजार ४५० हेक्टर क्षेत्रफलमा ७ हजार ३५० मेट्रिकटनमा सिमित भएको केन्द्रले जनाएको छ ।
१६ हजार ३५० हेक्टर जमिनमा १७ हजार ९८५ मेट्रिकटन कोदो उत्पादन हुँदै आएको जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार घटेर पाँच हजार ५८३ हेक्टरमा ७ हजार ५९२ मेट्रिकटन उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ । चार वर्षअधि एक हजार ६ सय हेक्टरमा एक हजार ७४३ मेट्रिकटन उत्पादन हुँदै आएको दलहन बाली पछिल्लो समय एक हजार ३८५ हेक्टरमा एक हजार ५९२ मेट्रिकटन उत्पादन हुने गरेको केन्द्रले जानकारी दिएको छ ।
स्याङ्जाको खेतीयोग्य जमिन र उत्पादन क्षमताबारे विगतका तथ्याङ्क यर्थाथमा आधारित नभएको केन्द्रका कृषि अधिकृत तथा कृषि अर्थविज्ञ नारायण पाठकले बताए । ‘विगतका तथ्याङ्कहरु अति परम्परामा आधारित र अबैज्ञानिक थियो ।’ अधिकृत पाठकले भने, ‘जीपिएसमा आधारित हुनुपर्ने पछिल्लो तथ्याङ्कलाई हामीले सक्दो आधुनिक र बैज्ञानिक बनाएका छौं ।’ जिल्लामा धान, गहुँ, मकै र कोदो उत्पादन हुने जग्गा ह्वात्तै घटेको छ भने फलफूल र तरकारी लगाउने जमिनसँगै उत्पादनमा वृद्धि भएको अधिकृत पाठकले बताए ।
९५२ हेक्टर क्षेत्रफलमा १३ हजार ५५७ मेट्रिकटन उत्पादन हुँदै आएको आलु लगाउने जमिनसँगै उत्पादन वृद्धि भएको छ । पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा एक हजार ९३१ हेक्टरमा ३३ हजार ५४ मेट्रिकटन आलु उत्पादन हुँदै आएको छ । जिल्लामा पछिल्लो समय आलु प्रवद्र्धनमा स्थानीय तहसँगै सरकारी निकायले कृषकसँग हातेमालो गर्दै उत्पादन वृद्धिमा केन्द्रित छन् ।
विगतमा दुई हजार १७५ हेक्टरमा २१ हजार १६५ मेट्रिकटन फलफूल उत्पादन हुँदै आएको स्याङ्जामा पछिल्लो समय चार हजार ४३४ हेक्टर क्षेत्रफलमा ४० हजार मेट्रिकटन उत्पादन हुने गरेको केन्द्रका कृषि अधिकृत विकास विकले बताए । कुल ४० हजार मेट्रिकटन फलफूल उत्पादन हुने जिल्लामा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र ज्ञान केन्द्रले प्राथमिकता दिदै आएको सुन्तलामात्रै झण्डै ३२ हजार मेट्रिकटन उत्पादन हुँदै आएको अधिकृत विकले सुनाए ।
तरकारी बाली दुई हजार ६७४ हेक्टरमा ३५ हजार १४३ मेट्रिकटनबाट बढेर तीन हजार ११९ हेक्टर क्षेत्रफलमा ४५ हजार १६३ मेट्रिकटन उत्पादन हुँदै आएको छ । ८ सय हेक्टरमा ७ हजार ९४२ मेट्रिकटन उत्पादन हुँदै आएको मसलाबाली बढेर ९७० हेक्टरमा १० हजार ६७० मेट्रिकटन उत्पादन भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । ३३१ हेक्टरमा २६८ मेट्रिकटन उत्पादन हुँदै आएको तेलहन बाली पछिल्लो तथ्याङ्क अनुसार बढेर ६८८ हेक्टर क्षेत्रफलमा ७६३ मेट्रिकटन उत्पादन हुने गरेको तथ्याङ्क सार्वजनिक छ ।
‘विगतका तथ्याङ्कहरु परम्परावादी र अबैज्ञानिक छन् नै ।’ अधिकृत विकले भने, ‘बढ्दो सहरीकरण, बसाइँसराइ, युवा पलायन, वन्यजन्तुको समस्या, जलवायु परिवर्तनका कारण केही क्षेत्रमा खेती विस्थापित भएको अवस्था छ ।’ खण्डिकृत जग्गा भएका कारण खेती गर्ने भन्दा खेती नगर्ने परिवारसँग बढि जग्गा भएको र उत्पादनका लागि पूर्वाधार पर्याप्त हुन नसक्दा खेतीयोग्य जमिनको क्षेत्रफल घटेको अधिकृत विकले बताए ।















