पोखरा ।
नेकपा एमालेका नेता महेश बस्नेतमाथि विराटनगरमा लोला प्रहार भएको छ । सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन आइतबार विराटनगर पुगेका बस्नेतमाथि विमानस्थलबाहिर लोला हानिएको हो ।
विराटनगर विमानस्थलमा अवतरण गरेलगत्तै उनलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षा घेरामा राखिएको थियो । तर, सुरक्षा निकायको ‘हाई अलर्ट’ बीच पनि उनीमाथि रातो रङ भरिएको लोला प्रहार भएको प्रहरीले पुष्टि गरेको छ । कालो झण्डा देखाउने प्रयास भएको र रातो रङ भरिएको लोला प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए ।
उनले लोला भने बस्नेतलाई नलागेको दाबी गरेका छन् । लोला हान्ने दुई जनालाई पक्राउ गरिएको र अहिले प्रहरी नियन्त्रणमा राखिएको उनले बताए । ‘उहाँ (बस्नेत) माथि आक्रमण भएको होइन । कालो झण्डा देखाउने र लोला हान्ने प्रयास भएको हो । लोला हान्ने दुईजना अहिले हाम्रो नियन्त्रणमा छन् ’
‘
नेता बस्नेत राष्ट्रिय युवा संघ नेपाल, कोसी प्रदेशले इटहरीमा आयोजना गरेको ‘जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर–संवाद’ कार्यक्रमलाई सम्बोधन गर्न विराटनगर पुगेका हुन् । उनीसँगै एमाले नेता भानुभक्त ढकाल पनि विराटनगर गएका छन् ।















