काठमाडौं ।
प्रगतिशील लोकतान्त्रिक पार्टीले आज बृहत एकता घोषणा सभा गर्ने भएको छ । नेपाली कम्युनिस्ट पार्टीमा एकता प्रक्रियामा सामेल नभएका तत्कालन माओवादी केन्द्रका नेता जनार्दन शर्माको पहलमा स्थापित सो पार्टीले काठमाडौंको राष्ट्रिय सभागृहमा आज दिउँसो साढे १२ बजे एकता घोषणा सभा कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँशक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरेको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी, रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोलीसँग एकता घोषणा हुन लागेको हो ।
यसअघि उनीहरुबीच एकताको सहमति पत्रमा हस्ताक्षरसमेत भइसकेको छ । आजको एकता घोषणा अघि शनिबार काठमाडौंको त्रिपुरेश्वरमा भेला आयोजना गरिएको थियो । सो भेलाले एकतालाई अनुमोदन गरेको थियो ।















