६ दिनसम्म पोखरा मुग्लिङ सडक निश्चित समयका लागि बन्द

केन्द्रभाग मिडिया

पोखरा ।

पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडक खण्ड ६ दिनसम्मका लागि निश्चित समयका लागि बन्द भएको छ । पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुँदा आजदेखि ११ मसिंरसम्म दैनिक चार घण्टा बन्द हुने भएको हो ।

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले सो अबधिमा दैनिक विहान ६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखी २ बजेसम्म सडक बन्द हुने जनाएको छ ।

आयोजना प्रमुख कृष्ण बहादुर कुँवरद्वारा जारी सूचना अनुसार, ६ मंसिर देखि ११ मंसिरसम्म दैनिक दुई चरणमा गरी चार घण्टा सडक बन्द वा आंशिक रूपमा प्रभावित हुनेछ । निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म पोखरा देखि विजयपुर हुँदै तालचोक चल्ने सवारी साधनहरू रोकिनेछन् । यद्यपि, यात्रुहरूको चाप र अवस्था हेरेर प्रत्येक ३० मिनेटमा लाइनमा रहेका सवारीसाधनलाई पास गराउने गरी लचिलो व्यवस्थापन अपनाइने आयोजनाले प्रष्ट पारेको छ ।

सडक बन्द भएको समयमा यात्रु तथा चालकहरूलाई सहजता प्रदान गर्न आयोजनाले वैकल्पिक मार्गहरूको प्रयोग गर्न सुझाएको छ । जसअनुसार मोटरसाइकल, स्कुटर तथा साना चारपांग्रे सवारीसाधनहरूले बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे निस्कने भित्री बाटो प्रयोग गर्न सक्नेछन् । त्यसैगरी, बस, ट्रक जस्ता ठूला तथा गरुङ्गो सवारीसाधनहरूले भने पावरहाउस चोकबाट बाघमारा हुँदै बिरौटा निस्कने मार्ग प्रयोग गर्नुपर्नेछ ।

 

  • ६ मंसिर २०८२, शनिबार ११:३१ प्रकाशित