नेकपा र जसपाबिचको एकता सहमतिपत्रलाई आज अन्तिम रुप दिइँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)बिच पार्टी एकता सहमति पत्रलाई आज अन्तिम रुप दिइने भएको छ ।

बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा दुवै पार्टीका वार्ता टोलीले एकता सहमतिको ड्राफ्ट तयार पारेका थिए । त्यसलाई अन्तिम रुप दिन दिउँसो बैठक बस्न लागिएको नेकपा वार्ता टोली सदस्य प्रकाश ज्वालाले जानकारी दिए ।

ज्वालाका अनुसार आठरदश बुँदा सहमतिको खाका तयार भएको छ । सहमति पत्र तयार भइसकेपछि दुवै पार्टीका शीर्ष नेताहरू बसेर एकता सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भएको उनले बताए ।

‘हिजो भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ । एकता सहमतिका लागि आठरदश बुँदा तयार भएका छन् । अन्तिम रुप दिँदा केही बुँदा थप घट पनि हुन सक्छ’, ज्वालाले भने, ‘एकता सहमति पत्रलाई दिउँसो दुवै पार्टीका वार्ता टोली बसेर अन्तिम टुंगो लगाउँछौँ । त्यसपछि शीर्ष नेता बसेर एकता सहमति पत्रमा हस्ताक्षर हुनेछ ।’

सङ्गठनात्मक संरचना र नेताहरूको व्यवस्थापन सहमतिको आधारमा टुंगो लगाइने उनले बताए । पछिल्लो समय दुई पक्षबिच लगातार छलफल हुँदै आएको छ । पार्टी एकतालाई टुंगो लगाउने विषयमा जसपाले मंसिर २ देखि ४ गतेसम्म केन्द्रीय कार्यकारिणी बैठक बोलाएको थियो । जसपा संघीय परिषद् अध्यक्ष तथा वार्ता टोलीका संयोजक राजेन्द्र श्रेष्ठले पनि छलफल सकारात्मक भएको बताएका छन् । यद्यपि सिंगो पार्टी एकता हुने विषयमा जसपाभित्र मतभेद रहेको छ ।

उपमहासचिव प्रदीप यादव लगायत नेताहरू उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग एकता गर्नुपर्ने पक्षमा देखिएका छन् । राजेन्द्र श्रेष्ठ, परशुराम बस्नेत लगायत नेताहरू नेकपासँग एकताको पक्षमा रहेका छन् । अध्यक्ष अशोक राई मौन देखिएको नेताहरूले बताएका छन् ।

  • ५ मंसिर २०८२, शुक्रबार १२:५१ प्रकाशित