चितवनलाई पराजित गर्दै लुम्बिनीको विजयी सुरुवात

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले चितवनमाथि ६ विकेटको जित निकालेको छ । लुम्बिनीले चितवनलाई पराजित गर्दै विजयी सुरूवात गरेको छ । पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको चितवनको सिजनमा पहिलो हार हो ।

१४३ रनको लक्ष्य लुम्बिनीले ४ विकेटको क्षतिमा १८.३ ओभरमा पूरा गर्‍यो । लुम्बिनीका लागि अफगान खेलाडी गुल्बादिन नइबले सर्वाधिक रन जोडे । उनले नटआउट ४४ रन जोड्ने क्रममा २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

नइबसँग कप्तान रोहितकुमार पौडेलेले चौथो विकेटका लागि ६० रनको साझेदारी गरे। सुस्त ब्याटिङ गरेका रोहितले ३९ रन बनाउन ४४ बल खेलेर १ चौका प्रहार गर्न सके ।

त्यसअघि लुम्बिनीका ओपनिङ ब्याटर डार्शी सर्टलाई चितवनका रिजन ढकालले ११ रनमा बोल्ड गरे । अर्का ‌ओपनर सन्दीप जोराले २८ रन बनाए। उनले १८ बलमा ४ चौका प्रहार गरे। उनलाई पनि रिजनले कप्तान कुशल मल्लबाट क्याच गराए ।

दिलीप नाथ दुई रन लिने क्रममा १० रनमा रनआउट भए। नाथले १५ बल खेल्दा १ चौका प्रहार गरे । बलिङमा चितवनका रिजनले २ विकेट लिए। सोहेल तन्विरले १ विकेट हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ ओभरमा १४२ रन बनायो ।

चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे। लगातार दुई अर्धशतक प्रहार गरेका इंग्लिस ब्याटिङ अलराउन्डर बोपाराले अन्तिम ‌ओभरमा गुल्बादिन नइबको बलमा क्याच हुनुअघि ६६ रन बनाए। उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

उनले कर्णाली याक्सविरूद्धको खेलमा ५२ रन बनाएका थिए। अघिल्लो सिजन उनले तीन अर्धशतक प्रहार गरेका थिए । दुवै सिजनमा गरी पाँच अर्धशतक बनाइसकेका बोपरा सर्वाधिक रन बनाउने ब्याटरको शीर्षमा पुगिसकेका छन्। उनले गत सिजन २८६ रन बनाएका थिए । यो सिजन बोपराले २ खेलमा ११८ रन प्रहार गरिसकेका छन्।अघिल्लो सिजन जनकपुरका लाहिरू मिलन्थाले सर्वाधिक रन बनाएका थिए ।

त्यसअघि चितवनका ओपनिङ ब्याटर डविन मलान शून्यमा आउट भएका थिए । उनी इनिङग्सको दोस्रो बलमै लुम्बिनीका नामिबियन तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानबाट बोल्ड भएका थिए ।

अर्का ओपनर दीपक बोहराले १२ रनमा १० रन मात्र बनाउन सके । देव खनाल १९ बलमा १४ रन र कुशल मल्ल १८ बलमा २१ रन बनाएर पेभिलियन फर्के। सइफ जइबले ७ बलमा २ चौका र १ छक्काको मद्दतमा १५ रन बनाए । लयमा देखिएका लुम्बिनीका ट्रम्पलम्यानले कुशल र सइफलाई पनि क्याच गराएका थिए ।

अर्जुन साउदले नटआउट ८ रन जोड्दा अन्तिम बलमा आउट भएका सोहेल तन्विरले ५ रन बनाउन सके । बलिङमा लुम्बिनीका ट्रम्पलम्यानले ३ विकेट लिए। उनले ४ ओभरमा २३ रन दिए । अभिषेस गौतम र गुल्बादिन नइबले २(२ विकेट हात पारे ।

  • ४ मंसिर २०८२, बिहीबार १९:५१ प्रकाशित