म्याग्दीको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप लगाइयो

केन्द्रभाग मिडिया

दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ ।

गलेश्वर निवासी बमबहादुर पुनले गलेश्वर मन्दिर विकास कोषको निर्णय र स्वीकृति लिएर चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर (सुनौलो)रङ र गजुरमा सुनको जलप लगाएका हुन् ।

कोषका उपाध्यक्षसमेत रहेका उनले यसअघि व्यक्तिगत लगानीमा गलेश्वर मन्दिरमा रहेको शिवजीको ज्योर्तिरलिङ्गमा चाँदीको मुकुटले छोपेका थिए । जलप लगाउन प्रयोग भएको सात ग्राम सुन खरिदमा एक लाख ५१ हजार, २७ लिटर सुनौलो रङ खरिद, ढुवानी र ज्यालामा दुई लाख ३६ हजार खर्च भएको पुनले जानकारी दिए ।

गलेश्वर मन्दिरको छानो पित्तल र गजुर तामाको छ । रङरोगन र सुनौलो जलप लगाएपछि गलेश्वर मन्दिर चम्किलो र आकर्षक देखिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो ।

यस वर्ष बेनी नगरपालिकासँगको साझेदारीमा गलेश्वर बजार सौन्दर्यकरण योजना सञ्चालन र गलेश्वर मन्दिर परिसरमा उज्यालोका लागि १८ मिटर अग्लो तीन हजार २०० वाट क्षमताको ‘हाइमाक्स लाइट’ जडान गर्न लागिएको कोषका सदस्य सचिव सम्मरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार गलेश्वर बजार क्षेत्रलाई धार्मिक तथा सङ्गितमय बनाउन सात ठाउँमा ‘स्पीकर’ जडान गर्ने तयारी भइरहेको छ । रासस

  • ४ मंसिर २०८२, बिहीबार १५:०१ प्रकाशित