बाराको सिमरामा आज पनि जेनजीको प्रदर्शन : आन्दोलनका कारण विद्यालय बन्द

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिच बुधबार भएको झडपका कारण बाराको सिमरा क्षेत्र आज पनि अशान्त बनेको छ ।

युवाहरू आज पनि सडक प्रदर्शनमा निस्किएका हुन् । प्रहरी प्रशासन र युवाहरू बिच बुधबार बेलुका भएको सहमति पश्चात् सडक सञ्चालनमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बनेको हो ।

सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन समेत आज बन्द रहेको छ ।

आन्दोलनका कारण सिमराका विद्यालय बन्द

यसैबीच नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवाबिच बुधबार भएको झडपका कारण सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन बिहीबार बन्द भएको छ ।

शान्तिसुरक्षाको कारण देखाउँदै विद्यालयहरू बन्द गरिएको हो । सिमरा पब्लिक स्कुलका प्रिन्सिपल बसन्त ढकालले सिमरा विमानस्थलमा बुधबार भएको आन्दोलनका क्रममा प्रहरीले फ्याँकेको अश्रुग्याँसले आसपासका विद्यालयका विद्यार्थीलाई असर परेको बताए ।

‘आन्दोलनको क्रममा प्रहरीले विचार नपुर्‍याइ अश्रुग्याँस प्रहार गर्दा हाम्रा विद्यार्थीलाई धेरै गाह्रो भयो,’ उनले भने, केही विद्यार्थी बेहोस पनि भए ।’प्रिन्सिपल ढकालका अनुसार विद्यार्थीहरूमा एकदमै त्रासको वातावरण भएकाले बिहीबार विद्यालय बन्द गरिएको हो ।

  • ४ मंसिर २०८२, बिहीबार १२:३१ प्रकाशित