एमालेमा भावी अध्यक्षका लागि दाबी पेश गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेल

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा भावी अध्यक्षका लागि आफ्नो दाबी पेश गर्ने भएका छन् । एमालेको आज (बहिबार) बस्ने सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले भावी अध्यक्षको लागि औपचारिकरूपमा आफ्नो दाबी पेश गर्ने भएका हुन् ।

यही २७ देखि २९ मंसिरसम्म हुने महाधिवेशनको तयारीलगायतका विषयमा आज दिउँसो १ बजेदेखि डाकिएको बैठकमा पोखरेलले आफूलाई सर्वसम्मत अध्यक्षमा अघि सार्न प्रस्ताव राख्ने तयारी गरेको निकट स्रोतले बतायो । एमालेका एक पदाधिकारीले पोखरेलले अध्यक्षका लागि प्रस्ताव राख्न सक्ने तयारी गरेको जानकारी आएको तर सल्लाह भने भइनसकेको बताए । ‘उहाँ (इश्वर पोखरेल) ले भावी अध्यक्षका लागि आज प्रस्ताव राख्ने कुरा मैले पनि सुनेको छु ।’ पोखरेल निकट ति पदाधिकारीले भने, ‘औपचारिक सल्लाह भने भएको छैन । उहाँले प्रस्ताव राख्नु स्वभाविक नै हो ।’

एमालेको भावी अध्यक्ष सर्वसम्मत चयन नहुने नदेखिएको अर्का एक नेताले बताए । उनका अनुसार अध्यक्षमा दाबा गर्ने र पार्टी नेतृत्व गर्न सक्ने क्षमता भएका नेता एमालेमा धेरै छन् । वरिष्ठ उपाध्यक्ष पोखरेल मात्र नभएर अध्यक्षका आकांक्षी अरुपनि रहेको ति नेताको दाबी छ । ‘आज सचिवालय बैठक बस्दैछ । धेरै चर्चा नगरौं । एमालेमा भावी अध्यक्षका लागि वर्तमान अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष पोखरेल मात्र होइन, अहिले अर्को एकजना नेताले पनि आकांक्षा राख्नुभएको छ । तीन जना नै नउठेपनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना देखिन्न’ उनले भने ।

आजको सचिवालय बैठकपछिको अवस्था हेरेर त्यसपछि कसरी कस्तो टीम बनाएर अघि बढ्ने भन्ने आफूहरु पर्ख र हेरको अवस्थामा रहेको समेत ति नेताले सुनाए ।

  • ४ मंसिर २०८२, बिहीबार ०८:४९ प्रकाशित