काठमाडौं ।
नेपाल सरकार र अमेरिकी सरकारको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ)अनुदान रकम थप्ने घोषणा गरेको छ।
योसँगै उक्त सम्झौता अन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ, जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ ।
यो थप स्रोतले प्राथमिकता प्राप्त विद्युत् प्रसारण पूर्वाधार पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणाली सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि सम्भव बनाउने जस्ता मुख्य उद्देश्य पूरा गर्न मद्दत गर्ने अमेरिकी दूतावासले जनाएको छ ।
ऊर्जा ग्रिडको विश्वसनीयता र बजार पहुँच सुधार गरी यो सम्झौताले अन्तर्राष्ट्रिय ‘कनेक्टिभिटी’ मा सहयोग पुर्याउने र ऊर्जा पूर्वाधारमा अमेरिकी उत्कृष्टता तथा असल अभ्यास प्रवर्द्धन गर्ने अपेक्षा छ ।
सम्झौताले अमेरिकी प्रविधि र कम्पनी नेपाली बजारमा प्रवेश गर्ने अवसर विस्तार गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।यो आर्थिक सहयोगले अमेरिका र नेपालबीच रहेको चीरस्थायी साझेदारी प्रतिविम्बित गर्नेसमेत दूतावासको भनाइ छ ।
एमसीसी अनुदानमा बन्ने परियोजना कार्यान्वयनमा ढिलाइ हुँदा त्यसबाट बढ्ने लागत पूर्तिका लागि अनुदान बढाउने निर्णय गरिएको हो ।















