काठमाडौं ।
स्थानीय प्रशासनले लगाएको कर्फ्यू आदेश उल्लङ्घन गर्दै युवाहरूले बाराको सिमरामा प्रदर्शन गरेका छन् ।
नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको तनावपछि उत्पन्न हुन सक्ने जोखिम मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ ।
तर, सिमराको मुख्य बजार क्षेत्रमै ठूलो संख्यामा उपस्थित भएर युवाहरू नारावाजीसहित प्रदर्शन गरिरहेका छन् ।सुरक्षाकर्मीहरूले माइकिङ गर्दै युवाहरूलाई आआफ्ना घर फर्कन भनिरहेका छन् ।
स्थानीय प्रशासनले गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ ।
बुधबार बिहानै बाराको मुख्य बजार क्षेत्रमा एमाले कार्यकर्ताले जेनजी अगुवा सम्राट उपाध्ययमाथि हातपात गरेपछि सुरु भएको झडपले विमानस्थल क्षेत्र तनावग्रस्त बनेको थियो।
एमालेले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो । त्यसलाई सम्बोधन गर्दै काठमाडौंबाट एमाले उपाध्यक्ष शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य महेश बस्नेतलगायतका नेता सिमरा जादै थिए ।















