काठमाडौं ।
प्रतिनिधि सभा विघटनको विपक्षमा उभिएको नेकपा एमाले पुनर्स्थापनासम्बन्धी रिट निवेदन लिएर आइतबार औपचारिक रूपमा सर्वोच्च अदालत जाने भएको छ ।
मंगलबार बसेको एमाले विघटित संसदीय दलको बैठकले तत्कालीन प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई अदालत जान अख्तियारी दिएको थियो । साथै एमालेले सबै राजनीतिक पार्टी, नागरिक समाज र सबै पेसा व्यवसायमा भएका व्यक्तिहरूलाई प्रतिनिधि सभा विघटन विरुद्ध उभिन आह्वान समेत गरेको छ ।
सोही निर्णय अनुसार आवश्यक कागजपत्र तयार गर्नेसहित कानुनका जानकारहरूसँग छलफल भइरहेको नेता बर्तौलाले जानकारी दिए ।
बिहीबार र शुक्रबार छलफल र तयारी गरेपछि आइतबार सम्म रिट निवेदन लिएर अदालत पुग्छौँ’, बर्तौलाले भने, ‘हाम्रो पार्टीको संसदीय दलले पुनर्स्थापनाका लागि गरेको सर्वसम्मत निर्णय छ । त्यही निर्णयका आधारमा रिट निवेदन दायर गर्ने निर्णय भएकाले व्यक्ति नभएर सिङ्गो एमालेका तर्फबाट रिट हाल्ने हो ।’
बर्तौलाले दलको बैठकको निर्णयलाई रिफरेन्स बनाएर अघि बढ्ने तयारी छ ।















