पोखरा-पारो सिधा उडानको औपचारिक सुरुवात

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा–पारो सिधा उडान सुरु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि भुटानस्थित पारो अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रुपमा उडान सुरु भएको हो । पोखरा महानगरका प्रमुख धनराज आचार्यले भुटान एयर र नेपालस्थित प्रतिनिधि युनिभर्सल टुर्स एन्ड ट्राभलको निमन्त्रणामा आफू ओपनिङ फ्लाइटमार्फत थिम्पु पुगेको जानकारी दिए ।

भुटानस्थित पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट खाली आएको विमानले पोखराबाट ९ जना पाहुना तथा क्रु मेम्बरसहित पारो विमानस्थलमा सुरक्षित अवतरण गरेको हो। प्रमुख आचार्यले केही प्राविधिक कारणले पूर्व निर्धारित टिमसहितको यात्रा हुन नसके पनि छिट्टै नियमित उडान सञ्चालन हुने अपेक्षा राखेको बताए । उनले भुटान एयरलाइन्स र युटिटीले यसअघि गरेको प्रतिबद्धता निकट भविष्यकै नियमित उडानमा पूरा हुनेमा पूर्ण विश्वास लिएको जनाएका छन् ।

उडान शुभारम्भको अवसरमा ओपनिङ फ्लाइटमा सहभागी भई केक काटेर उडान शुभारम्भ गर्ने अवसर प्रदान गरेकोमा उनले भुटान एयरलाइन्स, युनिभर्सल टुर्स एन्ड ट्राभलका चेयरम्यान पराशर प्रसाई, प्रबन्ध निर्देशक र सम्पूर्ण टिम तथा भुटान एयरलाइन्स परिवारप्रति हार्दिक आभार व्यक्त गरे ।

अक्टोबरबाट सुरु हुने भनिएको पूर्वनिर्धारित कार्यक्रम नेपालमा भएको अघिल्लो आन्दोलनका कारण पुनः तालिकाबद्ध भएको र मंगलबार पहिलो उडान सफलतापूर्वक शुभारम्भ भएको हो । भुटान एयरलाइन्सबाट प्राप्त जानकारी अनुसार, बाँकी नियमित सिधा उडानहरू २०२६ अप्रिलदेखि पुनः सुरु हुनेछन् ।

  • २ मंसिर २०८२, मंगलवार २१:१५ प्रकाशित