नवलपरासीमा कार दुर्घटना : बुवाको ज्यान गयो, छोरा घाइते

केन्द्रभाग मिडिया

बुटवल ।

नवलपरासीको भुमहीमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बुटवलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नम्बरको कार भुमहीको बडेरामा पुलबाट खोलामा खस्दा गम्भीर घाइते अर्घाखाँचीको धातिवाङका मणिराम पौडेलको उपचारका क्रममा ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय सुनवल नवलपरासीका अनुसार सोमबार दिउँसो १ बजेतिर भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उद्धार गरी उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा लगिएको थियो ।

दुर्घटनामा कार चालक हरिसचन्द्र पौडेल सामान्य घाइते भएका छन् । मृतक मणिराम हरिसचन्द्रका बुवा हुन् । प्रहरीका अनुसार बाबु–छोरा अर्घाखाँचीबाट काठमाडौं जाँदै गर्दा दुर्घटनामा परेका थिए ।

इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले घटनास्थलको प्रकृतिलाई हेर्दा तीव्र गतिका कारण अनियन्त्रित भई कार पुलदेखि तल खोलामा खसेको हुनसक्ने बताए ।

  • २ मंसिर २०८२, मंगलवार १३:०७ प्रकाशित