नयाँ दल दर्ताको समय थप, मंसिर ६ सम्म निवेदन दिन सकिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मको नयाँ दल दर्ताको निवेदन दिने समयावधि बढाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंसिर ६ गतेसम्म पनि नयाँ दल दर्ताको निवेदन दिन सकिनेछ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो । साथै, आयोगले मंसिर १ देखि ७ गतेसम्म आगामी फागुन २१ को निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन भनेको थियो ।

‘मंसिर १ गतेबाट निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय छ’, भट्टराईले रातोपाटीसँग भने, ‘नयाँ दल दर्ता गर्नेहरुको हकमा पनि मंसिर ६ गतेसम्म प्रक्रिया पुर्‍याएर आएका निवेदन लिने र चुनावका लागि पुनस् ७ गतेभित्र दर्ता गर्नुपर्ने छ ।’

आयोगले आइतबारसम्म १२२ वटा राजनीतिक दल कायम रहेको जनाएको छ । प्रवक्ता भट्टराईले सरकारले चुनाव घोषणा गरेपछि ७ वटा नयाँ राजनीतिक दल दर्ता भएका र ७ वटा नै यसअघि कायम भएका दल खारेज भएको बताए । थप २८ वटा दल दर्ता प्रक्रियामा रहेको उनले जानकारी दिए । ती दलको सनाखत र कागजात रुजुको काम भइरहेको छ ।

  • ३० कार्तिक २०८२, आईतवार १५:४० प्रकाशित