काठमाडौं ।
प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन भन्दै नेकपा एमालेले घोषणा गरेको कार्यक्रम अन्तरगत आज अधिकांश जिल्ला सदरमुकाम वा ठूला सहरमा जनसभाको आयोजना गरेको छ ।
एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरू जिल्ला जिल्लामा खटिएका छन् । गौतमका अनुसार जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन भइरहेको छ । पहिलो चरणमा २२ कात्तिकमा देशैभरि वडा भेला भएको छ । २५ कात्तिमा अधिकांश पालिकाहरूमा जनप्रदर्शन तथा र्यालीहरु भएका छन् । तेस्रो चरणको कार्यक्रम अन्तरगत आज जिल्लाहरू जनसभा हुँदैछन् । जनपरिचालनको समापन ६ मंसिरमा काठमाडौंमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिए ।
आजको जनसभामा महासचिव शङ्कर पोखरेलले नेपालगन्जमा सम्बोधन गर्नेछन् भने उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी, अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको सभालाई सम्बोधन गर्नेछन् ।
यसैगरी रुपन्देहीमा हुने कार्यक्रममा सचिव छविलाल विश्वकर्मा अर्का सचिव पद्मा अर्यालले झापाको बिर्तामोडमा आयोजना हुने जनसभालाई सम्बोधन गर्नेछिन्। कोशीका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिकमत कार्कीले धनकुटामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।















