काठमाडौं ।
निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । बैठकमा घटनाबारे ब्रिफिङ गर्दै उनले सुरक्षा संयन्त्रलाई आफूले कुनै पनि अप्रिय घटना नहोस् भनेर सजग गराएको दाबी गरे ।
लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले बुधबार आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा सरकारका तर्फबाट लिखित र मौखिक कुनै पनि जानकारी नगराइएको बताएका हुन् ।
‘मलाई आजसम्म सरकारको वा सरकारको कुनै पनि निकायले लिखित रूपमा या मौखिक रूपमा स्थानहद गरेको या पासपोर्ट रोक्का गरेको जानकारी दिएको छैन, सूचना दिएको छैन, सोधेको छैन, किन रोक्का गर्ने किन नगर्ने भनेर,’ लेखकले भने, ‘कुन संविधान, कुन कानुन कुन ऐनको कुन प्रावधान बमोजिम के औचित्यका लागि के प्रयोजनका लागि, कति अवधिका लागि मलाई स्थान हद गरियो भन्ने कुरा मलाई जानकारी छैन ।’
उनले दुई महिना अघि आफू र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद तोकेर राहदानी रोक्का गरेको वर्तमान सरकारको निर्णय समाचारका माध्यमबाट सुनेको बताए ।
‘निवर्तमान प्रधानमन्त्री र म लगायतलाई स्थान हद गरेको छ रे । अनि पासपोर्ट रोक्का गरिएको छ रे,’ पूर्वगृहमन्त्री लेखकले भने, ‘म रे किन भन्दैछु भने सरकारले, सरकारका सम्बन्धित निकायले दुई महिना पहिला स्थान हद गर्ने र पासपोर्ट रोक्का गर्ने निर्णय गर्यो भनेर समाचारबाट सुनियो ।’















