काठमाडौं।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दल विभाजन रोक्न माग गर्दै दायर गरेको रिटको सुनुवाइ बुधबार न्यायाधीशत्रय सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र मेघराज पोखरेलको पूर्ण इजलासमा हुने भएको छ ।
यसअघि राउतको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी भएको थियो । जनमत पार्टी विभाजित भएर एउटा पक्षले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सो विरुद्ध राउत रिट लिएर सर्वोच्चमा पुगेका हुन्। राउतले रिटमा अलग्गै दल दर्ता गराउन दिएको निवेदन अघि नबढाउनका लागि अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । राउतले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएका छन् ।
उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । उनीहरूले निर्वाचन अयोगमा पुगेर जनस्वराज नामको पार्टी दर्ता गर्न निवेदन दिए पनि सर्वोच्चले दल दर्तालाई यथास्थितिमा राख्नु भनेपछि सनाखत हुन बाँकी छ ।
उपाध्यक्ष अब्दुल खान पनि यसअघि नै जनमत पार्टीबाट अलग भएका थिए । जनमत पार्टीमा ५२ जना केन्द्रीय कार्यकारिणी सदस्य छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जनमतले ६ सिट जितेको थियो । राष्ट्रिय पार्टी बनेको जनमतले मधेस प्रदेश सरकारको नेतृत्व समेत गरिरहेको छ ।















