बाला चतुर्दशीमा महाप्रभुधाममा महोत्सव हुँदै

केन्द्रभाग मिडिया

पोखरा।

पोखरा, १३ आर्वा स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल महाप्रभुधाममा बाला चतुर्दशीको अवसर पारेर महोत्सव आयोजना गरिदै छ ।

श्री महाप्रभुधाम रतन पाँडे पर्यटकीय क्षेत्र विकास समितिको आयोजनामा यही मंसिर तीन गते बाला चतुर्दशी (सतबीज) छर्ने दिन एकदिने महोत्सवको आयोजना गरिने भएको हो ।

महोत्सवमा राष्ट्रिय खुल्ला भजन चुड्का प्रतियोगिता, तथा महाआरती लगायतका विभिन्न धार्मिक तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिने छन् । महोत्सव सम्पन्न गर्न बिभिन्न उपसमितिहरू समेत गठन गरिएको छ ।

‘आर्वा महाप्रभुधाम जाऔं, सतबीज छर्दै भजन कीर्तनमा रमाऔं ’ भन्ने नाराका साथ आयोजित महोत्सवको मुख्य आकर्षण समुहगत राष्ट्रिय खुल्ला भजन चुड्का प्रतियोगिता रहेको हो । प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै दोस्रो हुने समुहलाई नगद ३० हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुने एक समुहलाई पाँच हजार नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएका छन् । प्रतियोगितामा टीम दर्ता शुल्क एक हजार रुपयाँ राखिएको छ । तेस्तै सहभागि हुने सबै समुहहरुलाई प्रोत्साहन स्वरुप दुईहजार रुपयाँ प्रदान गरिने बताईएको छ ।

प्रतियोगितामा भाग लिने समुहले मंसिर एक गते सम्म टिम दर्ता गराई सक्नु पर्ने छ ।यसैबिच महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न मंसिर एक गते बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गरिदै छ । पोखरा १३ काहुँखोलाबाट शुरू हुने प्रभातफेरी पोखराका विभिन्न स्थानको परिक्रमा पछी पुन ः काहुँखोलामा आई समापन हुनेछ ।

  • २६ कार्तिक २०८२, बुधबार ११:०३ प्रकाशित