पोखरा ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा कास्कीका विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयहरु, व्यक्तिगत घर पसलहरुमा समेत आगजनी, तोडफोड तथा लुटपाट गर्ने थप पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धानको क्रममा आगजनी, तोडफोड, लुटपाट तथा प्रहरी कार्यालयको हतियार तोडफोड गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा १० बुद्धचोक बस्ने ५० वर्षीय चन्द्र बहादुर थापा, पोखरा १० कै ४८ वर्षीय खलि भनेर चिनिने हरी बहादुर थापा, माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ बस्ने २५ वर्षीय सन्तोष परियार, पोखरा २६ बुढिबजारका ४० वर्षीय रमेश थापा र पोखरा ९ बस्ने ३५ वर्षीय अभिमन्यु पाण्डे रहेका कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रवक्ता बस्नेतका अनुसार उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।














