पोखरा ।
नव गठित नेपाली कम्युनिष्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी बिच एकता हुने टुंगो लागिसकेको दाबी गरिएको छ । तर, जनता समाजवादीका अध्यक्ष अशोक राईले भने एकताका लागि नेपाली कमयुनिष्ट पार्टीसंग अहिलेसम्म औपचारिक सम्बाद नै नभएको दाबी गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी गठन अगाडि नै वार्ता भएको तर, गठन पछि कुनै वार्ता नभएको उनको दाबी छ । नेपाली कम्युनिष्ट पार्टीसंग हुने भनिएको एकताको विषयमा केन्द्रभाग डटकमले राखेको जिज्ञासामा उनले ‘औपचारिक रुपमा वार्ता नै भएको छैन । कसरी एकता हुनु ?’ भनेका छन् ।
अध्यक्ष राईले अफ्नो पार्टीको तर्फबाट वार्ता गर्न वार्ता समिति तयार भएपनि नेपाली कम्युनिष्ट पार्टीले वार्ता समिति नै नबनाएकाले वार्ता नै नभएको प्रष्टिकरण दिए । उहाँहरु (नेपाली कम्युनिष्ट पार्टी) ले पार्टी गठन भएपछि वार्ता कमिटी नै बनाउनु भएको छैन । यत्तिकै गफ गर्ने कूरा भएन ।’ उनले भने, ‘पहिले नेकपा समाजवादी पाटी नाम राख्ने वा अरु के नाम राख्ने भन्ने विषयमा छलफल भएको हो । तर, नयाँ पार्टी बनेपछि कुनै वार्ता भएको छैन ।’
तत्काल मोचा वा कार्यगत एकता गरेर जानसकिने तर, पार्टी एकताकै निम्ति भने समय प्रयाप्त नभएको उनको टिप्पणी छ । नेपाली कम्युनिष्ट पार्टीको विधान र घोषणा पत्र अध्ययनका लागि आफूले मागेको उनले बताए । ‘मैले नेपाली कम्युनिष्ट पार्टीको विधान र घोषणा पत्र मागेको छु । उहाँहरु विधान र घोषणा पत्र निर्माण गरेर पार्टी दर्ताकै प्रक्रियामा रहेको जवाफ पाएको छु ।’ उनले भने, ‘पार्टी एकता गर्ने जस्तो विषयमा पहिले सिद्धान्त, बिचार र संगठनात्मक ढाँचा लागयतमा मसिनो गरी अध्ययन गर्नुपर्छ । यी कुरा मिल्यो भने एकता गर्ने विषय ठूलो विषय होइन । तर, पहिला त्यो चाहियो अनि अध्ययन गर्ने र अगाडि बढ्ने होला ।’
अध्यक्ष राईले पार्टीको नामका विषयमा भने बाहिर आएजस्तो आप्पत्ति नरहेको प्रष्ट्याउँदै पार्टी एकता भने हुनसक्ने संकेत गरेका छन् । ‘नामकै विषयमा समस्या होइन । एकता पनि होला । तर, अब सबै विषयमा अध्ययन गर्न समय छैन । त्यसैले मोर्चा वा कार्यगत एकता गरेर अगाडि बढ्न सकिन्छ भन्ने हो’ उनले भने ।















