मुस्ताङको कोरला नाकाबाट अध्यागमन सेवा सञ्चालन

केन्द्रभाग मिडिया

काठमाडौं ।

मुस्ताङको कोरला नाकाबाट अध्यागमन सेवा सुरु गरिएको छ । कार्यालय उद्घाटन भएको १ वर्षपछि सेवा सञ्चालनमा ल्याइएको हो ।

शनिबार १३ जना नेपाली नागरिकहरू त्यहाँबाट चीनतर्फ प्रस्थान गरेको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले रातोपाटीलाई बताए । चीन प्रस्थान गर्नेमा ल्होमान्थाङ गाउँपालिकाका अध्यक्ष सहित १३ जना छन् ।

तत्कालीन गृहमन्त्री रमेश लेखकले २०८१ कात्तिक १४ मा कोरलास्थित अध्यागमन कार्यालयको उद्घाटन गरेका थिए । अध्यागमन कार्यालय परिसरमा बाक्लो हिउँ परेका कारण हाल ल्होमान्थाङ इलाका प्रशासन कार्यालयबाट सेवा सुरु गरिएको हो ।

चीनको अध्यागमनले पनि कोरालाबाट राहदानी र भिसा जारी गर्न थालेको छ । सरकारले माथिल्लो मुस्ताङ क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हुनाले सो क्षेत्रमा प्रवेश गर्दा वा पदयात्रा गर्दा पहिलो १० दिनको लागि ५ सय अमेरिकी डलर तिर्नुपर्छ ।

नेपाल सरकारले चिनियाँ पर्यटकलाई एक भिसा वर्षमा १५० दिन निःशुल्क उपलब्ध गराउँदै आएको छ । निषेधित क्षेत्रमा प्रवेश गर्दाचाहिँ चिनियाँ नागरिकले पनि ५ सय अमेरिकी डलर शुल्क बुझाउनुपर्छ । रासस

  • २३ कार्तिक २०८२, आईतवार १२:५० प्रकाशित