काठमाडौं ।
आज (बिहीबार) र भोलि (शुक्रबार) बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
हरेक वर्ष २ कात्तिक र ३ कात्तिक तथा ६ वैशाख र ७ वैशाखमा नेपालमा यो कार्यक्रम सञ्चालन हुँदै आएकोमा यस वर्ष २ र ३ कात्तिकमा तिहार पर्व परेकाले स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले आज र भोलि देशका ७५३ स्थानीय तहमै पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी दिए ।
यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । छ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि पनि खुवाइन्छ ।
महाशाखाका अनुसार अघिल्लो चरणमा भिटामिन ‘ए’ क्यापसुल खाने करिब ९० प्रतिशत र जुकाको औषधि खाने करिब ८७ प्रतिशत रहेका छन् ।














