काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले जितका लागि यूएई सामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईको आईसीसी एकेडेमीमा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३९ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि भिम सार्कीले सर्वाधिक ४८ रनको योगदान दिए । ६८ बलमा ७ चौका सहयोगमा ४८ रन बनाएका भीम ध्रुव परासरको बलमा क्याच आउट भए ।
ओपनर आशिफ शेख ४८ बलमा ४ चौका सहयोगमा ३४ रन बनाउँदा रन आउट हुन पुगे । ४३ बलमा ३ चौका र १ छक्का सहयोगमा ३७ रन बनाएका दीपेन्द्रसिंह ऐरी पनि रन आउट हुन पुगे ।
आरिफ शेखले ५३ बलमा २ चौका सहयोगमा ३० रन बनाए । त्यसअघि दोस्रो ओभरको पाचौँ बलमा ओपनर कुशल भुर्तेल ९ बलमा २ रन बनाउँदा जाहिद अलीको बलमा विकेटकिपर आर्यान्स शर्माको हातबाट क्याच आउट हुन पुगे ।
कप्तान रोहित पौडेल ७ बलमा २ रन बनाउँदा क्याच आउट नै भए । यूएईविरुद्ध २ रन बनाएसँगै कप्तान रोहितले ७६ खेलमा २ हजार रन पूरा गरेका छन् । नन्दन यादव १ रनमा बोल्ड भए । करण केसी शून्य रनमा नै पेभेलियन फर्के ।
कुशल मल्ल अन्तिम बलअघि ४६ रनमा बोल्ड भए । उनले ५१ बलमा १ चौका र ३ छक्का प्रहार गरे । जुनैद सिद्दीकीको बलमा कुशलको प्रहार विकेटकिपरले क्याच ड्रप गर्दा जोगिएका थिए ।
सन्दीप लामिछाने १५ र ललित राजवंशी ४ रनमा नटआउट रहे । यूएईका लागि ध्रुव परासरले २ विकेट लिए । उनले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र २८ रन खर्चे । जुनैद सिद्दीकी र मुहम्मद जावादुल्लहले पनि समान २ विकेट लिए । जहिद अलीले एक विकेट झारे ।















