काठमाडौं ।
बुधबार घोषणा गर्न लागिएको नेपाली कम्युनिस्ट पार्टीमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तेस्रो वरियता पाउने भएका छन् ।
बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरूबीच खनाललाई तेस्रो वरियता दिनेगरी सहमति भएको हो ।स्रोतका अनुसार, यसअघि बामदेव गौतमलाई तेस्रो वरियतामा राखिएको थियो । विभिन्न घटकबीच हुन लागेको एकताप्रति खनालले असन्तुष्टि जनाएका थिए ।
अन्तत: उनी भृकुटीमण्डपमा आयोजित घोषणा सभामा सहभागी हुन पुगेका छन् ।एकता वार्तामा सहभागी एक नेताका अनुसार, बुधबार बिहानमात्रै भएको छलफलमा खनाल तेस्रो वरियतामा बसेर नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन सहमत भएका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीमा प्रचण्ड पहिलो, माधव कुमार नेपाल दोस्रो, झलनाथ खनाल तेस्रो, बामदेव गौतम चौथो र नारायणकाजी श्रेष्ठ पाँचौं वरियतामा रहने भएका छन् ।















