घनश्याम भुसाल पक्षले मंसिरमा राष्ट्रिय भेला गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मंसिरमा राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ । अध्यक्ष माधवकुमार नेपाल एकता प्रक्रियामा गएर त्रुटि गरेको बताउँदै उनले आफ्नो समूहले कम्युनिस्ट पार्टी पुनर्गठन गर्न मंसिरमा राष्ट्रिय भेला गर्ने घोषणा गरेका छन् ।

अध्यक्ष नेपालसहित पार्टीको बहुमत पक्षले आजै माओवादी लगायतका पार्टीहरूसँग एकता गर्न लागेको अवस्थामा महासचिव भुसालले अलग्गै पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।

भुसालसहित वरिष्ठ नेता घनेन्द्र बस्नेत, नेता जीवनराम श्रेष्ठ लगायतका नेताहरू एकतामा नगई नेकपा एकीकृत समाजवादी पुनर्गठनको प्रयासमा छन् । उनले हरेक पार्टी फुट्ने भन्दै सबै पार्टी तीव्र अन्तरविरोध र विघटनको दिशामा रहेको बताए ।

भुसालले तथाकथित एकताको भ्रममा नपर्न, नेकपा एकीकृत समाजवादीको आ–आफ्नै हैसियतमा धैर्यताका साथ रहन, र क्रान्तिकारी विकल्प निर्माणबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीका सम्पूर्ण पार्टी कमिटी, जनसङ्गठन, विभाग र आयोगका सदस्यहरूलाई हामी आह्वान समेत गरेका छन् ।

साथै, उनले आगामी मङ्सिर पहिलो हप्ता आयोजना गरिने राष्ट्रिय भेलाको तयारीमा लाग्न सबैलाई अनुरोध गरेका छन् ।

  • १९ कार्तिक २०८२, बुधबार १३:०७ प्रकाशित