रसुवा ।
रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्ने भएको छ ।
चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको मितेरी पुलको निर्माण एक महिनाभित्र सम्पन्न हुनेछ । गत असारमा ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि दुई देशबीचको आवतजावत बन्द भएको अवस्थमा चिनियाँ पक्षले निर्माण सो पुल निर्माण गरिरहेको छ ।
रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले चिनियाँ अधिकारीहरूसँगको छलफलपछि एक महिनाभित्र पुल निर्माण सम्पन्न हुने र पुनः बैठक बसी सञ्चालन मिति तय गरिने जानकारी दिए ।
चिनियाँ पक्षले प्रतिकूल मौसमका बाबजुद रसुवागढीस्थित मितेरी पुल निर्माणलाई प्राथमिकता दिएको बताउँदै काबुभन्दा बाहिरको परिस्थिति सिर्जना नभएमा एक महिनाभित्र यातायात सञ्चालन हुने जानकारी प्राप्त भएको उनले स्पष्ट पारे ।
मितेरी पुल बगाएसँगै सो नाकाबाट हुने आयात–निर्यात ठप्प हुँदा कम्तीमा १४–१५ अर्ब राजस्व गुमेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए।















