काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन् । ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन पौडेल कतार जान लागेका हुन् । दोहामा १८ कात्तिक देखि २० कात्तिकसम्म सम्मेलन आयोजना हुनेछ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन सोमबार त्यहाँ प्रस्थान गर्न लागेका हुन्। राष्ट्रपति पौडेलले १८ कात्तिकमा सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन् ।
संयुक्त राष्ट्रसङ्घ, महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।














