मुस्ताङ ।
बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका जोड्ने (कागबेनी–छुसाङ) नौ किलोमिटर सडक आजदेखि सञ्चालनमा आएको छ ।
शनिबारदेखि विभिन्न स्थानमा उपकरण प्रयोग गरी सुरु गरिएको कागबेनी–छुसाङ सडक आवश्यक मर्मतपछि आजदेखि सडकमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको पहलमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, सुरक्षा निकाय र कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको सहकार्यमा सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङ प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाको भनाइ छ ।
उनका अनुसार कागबेनी–छुसाङ अवरुद्ध सडक सञ्चालनमा आएसँगै बारागुङ मुक्तिक्षेत्र–३ छुसाङमा फसेका झण्डै ३५० भन्दाबढी सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
कागबेनी–छुसाङसम्मको सडक सञ्चालनमा आए पनि कोरलानाका जोड्ने बारागुङ मुक्तिक्षेत्र–३ चैलेमा अवरुद्ध सडकको मर्मतका लागि उपकरणसहित टोली त्यसतर्फ प्रस्थान गरेको लामाको भनाइ छ ।














