काठमाडौं।
कार्य तालिकाको विषयमा सहमति नजुटेपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको छ । शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको बैठक बस्दै नबसी आइबारसम्मका लागि स्थगित भएको हो ।
केन्द्रीय कार्यालय स्रोतका अनुसार आज सहमतिको प्रयासस्वरुप नेताहरूबिच छलफल भएपनि विवाद कायमै रहेपछि बैठक नै आइतबारसम्म स्थगित गरिएको हो ।
कांग्रेसमा महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले मङ्सिरमा गर्ने गरी महाधिवेशनको कार्यतालिका ल्याउन आग्रह गर्दै आएका छन् ।
तर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले त्यो प्रस्ताव अस्वीकार गरेपछि समस्या पैदा भएको बताइएको छ । संस्थापन समूहले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताइरहेको छ । विवादका कारण बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा समेत महामन्त्री थापा अनुपस्थित भएका थिए ।
यसैबिच आजै पनि खड्काले केन्द्रीय कार्यसमिति बैठक रोकेर पदाधिकारीहरूको बैठक राखेका थिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको उक्त बैठकमा इतर समूहका नेता डा शेखर समेतको सहभागिता रहेको थियो । उक्त बैठकमा समेत कार्यतालिकाबारे सहमति नभएपछि बैठक नै प्रभावित बन्न पुगेको नेताहरुको भनाइ छ ।















