पोखरा ।
हाल देशमा पश्चिमी वायुको साथै अरव सागरमा बनेको न्युन चापीय प्रणाली तथा बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव छ ।
देशभर साधारणतया बदली छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपात र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधारणतया बदली रहने छ ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको साथै कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।














