बुटवल ।
रूपन्देहीमा गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।
मंगलबार राति रूद्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको गाडी कञ्चन गाउँपालिका वडा नं. ५ फायरलाइनस्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको थियो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाका अनुसार मंगलबार राति करिब साढे १० बजेतिर भएको उक्त दुर्घटनामा तीन जनाको ज्यान गएको र चार जना गम्भीर घाइते भएका छन्।
सडकमा गुडिरहेको उक्त गाडी अचानक अनियन्त्रित भई सडक छेउमा रहेको रूखमा ठोक्किँदै करिब तीन मिटर तल खसेको थियो।
दुर्घटनामा परी रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं.५ का ४३ वर्षीय जितेन्द्र थापा, ४२ वर्षीय खेम विक र सैनामैना नगरपालिका वडा नं.८ बाँसगढीका ४५ वर्षीय खुम बहादुर आचार्यको ज्यान गएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका सातै जनालाई इलाका प्रहरी कार्यालय रूद्रपुरको टोलीले तत्काल उद्धार गरी उपचारको लागि कपिलवस्तुको पिपरा अस्पताल लगिएकोमा तीन जनाको उपचारको क्रममा राति नै ज्यान गएको प्रहरीले जनाएको छ।
त्यस्तै दुर्घटनामा परी ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका छोरा १० वर्षीय समीर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा गम्भीर घाइते भएका छन्। घाइते भएका विक्रम गाडीका चालक हुन्।
उनीहरू सबैको टाउकोमा गम्भीर चोट लागेको र अहिले बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनाको प्रारम्भिक अध्ययनमा तीव्र गतिका कारण गाडी नियन्त्रणमा आउन नसकी दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।















