काठमाडौं ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि बस्दै छ । सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा बस्ने बैठकमा पार्टी अध्यक्ष माधव नेपाल सुरक्षाकर्मी विना नै पुगेका छन् ।
सरकारले मंगलबार पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको सुरक्षार्थ खटिएका सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो। यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षाकर्मीको दुरुपयोग रोक्ने निर्णय गरेका थिए । भ्रष्टाचारका अभियुक्तलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा सुविधा दिन नमिल्ने भन्दै सुरक्षाकर्मी फिर्ता बोलाइएको गृह मन्त्रालय स्रोतले बतायो ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारले १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मीको रूपमा उपलब्ध गराउँदै आएको थियो । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल रिहा भएका थिए ।
यता, जेनजी आन्दोलनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा मुख्य गरी ६ वटा विषयमा छलफल हुनेछ । बैठकमा मुलुकको वर्तमान राजनीति, जेनजी आन्दोलन, निर्वाचन तयारी, आन्तरिक सङ्गठन व्यवस्थापन र नयाँ मनोनीत केन्द्रीय सदस्यको शपथ छलफलका एजेण्डा रहेका छन् ।
त्यसबाहेक बैठकमा पार्टी एकता कार्यदल समितिले पार्टी एकताका लागि भएको छलफल र प्रगतिबारे रिपोर्ट पेस गर्नेछ ।एकीकृत समाजवादीले नेता बेदुराम भुसालको नेतृत्वमा ३ सदस्यीय पार्टी एकता समिति गठन गरेको थियो । उक्त समितिले माओवादी केन्द्रसहितका वामपन्थी दलसँग एकताका लागि वार्ता गर्दै आएको छ ।















