पोखरा ।
कास्की प्रहरीले प्रहरी कार्यालयहरू आगजनी र तोडफोड गर्ने मध्य १८ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले पत्रकार भेटघाट मार्फत पक्राउ परेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की तोडफोडको आरोपमा पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ४ घर भइ हाल पोखरा ४ बस्दै आएका २४ वर्षीय राजेश मक्रान्ती,पोखरा ४,अधिकारी मार्ग बस्ने मासु व्यापारी ५४ वर्षीय नारायण साई,पोखरा ११ फूलबारीका २२ वर्षीय अरुण विक,पोखरा १, कसेरी बस्ने ४१ वर्षीय रुपेश मगर,पोखरा १,मोहोरिया टोलका ४३ वर्षीय दिपु साई रहेका छन् ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार मक्रान्ती यसअघि २०७९ सालमा अभद्र मुद्दामा मुछिएका व्यक्ति हुन् । २४ भदौमा जिल्ला प्रहरी कार्यालय लुटपाट र आगजनीमा मक्रान्तीसहित नारायण साई र अरुण विकको प्रत्यक्ष संलग्नता देखिएको उनले बताए ।
रुपेश मगरले बगर प्रहरी चौकीमा आक्रमण गरेका थिए भने दिपु साईले जिल्ला प्रहरी कार्यालय कास्की पुगेर प्रहरीको हतियार जलाएका थिए । यसैगरी प्रहरीले अन्नपूर्ण गाउँपालिकाको नयाँपुलमा रहेको प्रहरी चौकीमा आगजनी गरेको आरोपमा अन्नपूर्ण गाउँपालिका ६ का २२ वर्षीय ग्रिस क्षेत्री, नयाँपुलकै ४३ वर्षीय लङबहादुर नेपाली, १९ वर्षीय अरविन विक, ६२ वर्षीय थमबहादुर सार्की र ४२ वर्षको पूर्णबहादुर नेपाली पनि पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
पूर्णबहादुर अभद्र व्यवहार मुद्दामा वडा प्रहरी कार्यालय बगरको हिरासतमा रहेको र सो कार्यालय आगजनीपछि नयाँपुल पुगेर प्रहरी कार्यालय जलाएको कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
कास्की प्रहरीले २४ भदौमा जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगी हुलहुज्जत गर्ने तथा प्रहरीको पोसाक लगाएर फोटो खिचाउने ८ जनालाई पक्राउ गरेकोमा धरौटीसहित तारेखमा छाडेको जनाएको छ ।
यसरी तारेखमा रिहा हुनेमा पोखरा ९, पृथ्वीचोकका २४ वर्षीय अमृत घले, पोखरा २० मौजाका ३९ वर्षीय चन्द्रबहादुर गुरुङ,रुकुम घर भइ पोखरा ८ बस्ने २४ वर्षीय दीपेश शाही ठकुरी,पोखरा १६ का २४ वर्षीय सुरेश गुरुङ,पोखरा ५ का २९ वर्षीय सागर अधिकारी,पोखरा २० मौजाका २२ वर्षीय सागर परियार,पोखरा ५ पस्र्याङका ४५ वर्षीय राजेश शाही र सोही ठाउँका २९ वर्षीय दीपेश शाह रहेका छन् ।














