काठमाडौं ।
आहुतिको नेतृत्वमा रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकी नेतृ फूलमतीको संयोजकत्वमा ‘जेनजी केन्द्र’ गठन भएको छ । एक विज्ञप्ति जारी गर्दै केन्द्रले २२ सदस्यीय संयोजन समितिको समेत घोषणा गरेको छ, जसले देशव्यापी रूपमा सङ्गठन विस्तार गर्ने लक्ष्य लिएको जनाएको हो ।
विज्ञप्तिमा जेनजी विद्रोहलाई ऐतिहासिक रूपमा चित्रण गर्दै यसले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताका मागहरूमा केन्द्रले पूर्ण ऐक्यबद्धता जनाएको छ ।
जेनजी केन्द्रले सबै परिवर्तनकारी जेनजीहरुलाई एकताबद्ध गरी देशव्यापी सङ्गठन विस्तार गर्ने, आन्दोलनले उठाएका मूल विषयहरू जस्तै सुशासन, भ्रष्टाचारको अन्त्य, नयाँ शासकीय स्वरूप र राष्ट्रिय स्वाधीनताका मुद्दाहरूलाई समग्र सामाजिक मुद्दाहरूसँग जोड्ने बताएको छ । केन्द्रले प्रगतिशील रूपान्तरणको सङ्घर्षमा अघि बढ्नका लागि खुल्ला संवाद, छलफल, बहस र सहकार्यमा जोड दिएको जनाएको छ ।
फूलमतीको संयोजकत्वमा गठित २२ सदस्यीय संयोजन समितिमा प्रदीप विश्वकर्मा, अर्जुन फुयाँल, आयुष पराजुली, आशिष बोयजू, जयसुर विश्वकर्मा, निर्जन विश्वकर्मा, परर्ना श्रेष्ठ, पुष्पा घर्ती मगर, प्रदीप विश्वकर्मा, फूलमती, बम बहादुर विश्वकर्मा, भूमिका बिस्ट, मनिष पोखरेल, रक्षा कार्की, लिजा तामाङ, सन्दीप थापा, शमशेर, सरल दुलाल, साया किरण, सुमित मेनाली, स्नेहा तामाङ र ख्याल तामाङ रहेका छन् । यो समितिले देशभरि सङ्गठन विस्तार गरी जेनजी आन्दोलनका उद्देश्यहरूलाई साकार पार्ने दिशामा काम गर्ने विज्ञप्तिमा जनाइएको छ ।















