पदयात्रा तथा हिमाल आरोहण नगर्न मनाङ प्रशासनको आग्रह

केन्द्रभाग मिडिया

मनाङ ।

मनाङ जिल्लामा निरन्तर वर्षा र माथिल्लो भेगमा भारी हिमपात भएपछि जिल्ला प्रशासन कार्यालय मनाङले पदयात्रा तथा हिमाल आरोहण नगर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले मंगलबार एक सूचना जारी गर्दै जिल्लामा तथा सो हुँदै गरिने पदयात्रा र हिमाल आरोहण कार्य तत्कालका लागि स्थगित गर्न आग्रह गरेका हुन्।

उनका अनुसार, जल तथा मौसम विज्ञान विभागले कार्तिक १० गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा निरन्तर वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ। त्यसअनुसार मनाङ जिल्लाको तल्लो भेगमा वर्षा र माथिल्लो भेगमा निरन्तर भारी हिमपात भईरहेकाले यात्रु तथा आरोहीको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।

सूचनामा भनिएको छ,’सम्भावित जोखिमलाई ध्यानमा राखी यस जिल्लामा वा यस हुँदै गरिने पदयात्रा तथा हिमाल आरोहण नगर्नुहोस्रनगराउनुहोस्।’

प्रशासनले सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आफ्नै स्थानमा सुरक्षित बस्न र आगामी सूचना जारी नहुँदासम्म नयाँ पदयात्रा वा आरोहणका लागि ननिस्कन अनुरोध गरेको छ।

  • ११ कार्तिक २०८२, मंगलवार ११:५३ प्रकाशित