काठमाडौं ।
आज रातिदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना देखिएको छ । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस प्रणालीको प्रभावले आज १० कात्तिकको रातिदेखि १२ कात्तिकको बिहानसम्म हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना छ ।
महाशाखाकाअनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ ।
साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ । तसर्थ, सम्भावित हिमपात/वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ ।














