काठमाडौं ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बहुमत महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरलाई नियमित महाधिवेशनमा जोड्ने बताएका छन् ।
नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा कार्यवाहक सभापति खड्काले अब विशेष महाधिवेशन नभई नियमित महाधिवेशन हुने बताएका हुन् ।
‘पार्टीको विधानअनुसार हामीले नियमित महाधिवेशन गर्छौँ । विशेष महाधिवेशनको प्रस्तावलाई पनि नियमित महाधिवेशनको सीमाभित्र जोडेर हामी चालु केन्द्रीय समिति बैठकबाट एकताबद्ध रूपमा निर्णय गछौँ,’ खड्काले भने– ‘चालु केन्द्रीय समितिले पार्टीभित्रका आन्तरिक समस्या एकताबद्ध भएर घोषित निर्वाचन, पार्टी महाधिवेशन, भ्रातृसंस्थाका चालु अधिवेशनबारे निर्णय गछौँ । पार्टीलाई खरानीको जगबाट उठाएर प्रतिकुलतालाई अनुकूलतामा बदल्नका लागि निर्णय गर्छौँ ।’
उनले केन्द्रीय समितिले गत भदौ मुलुक २४ गतेको अवस्थामा पुग्न कहाँ कहाँ के–के कारक बने भन्ने विषयमा पनि बैठकले निर्णय लिने बताए । झिना मसिना कुरालाई बिर्सेर एकताको भावबाट चालु केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने खड्काको भनाइ थियो ।
केन्द्रीय समितिबाट जे निर्णय भए पनि सर्वसम्मत निर्णय हुने खड्काले बताए । नेपाल इतिहासकै सबै कालखण्डमा प्रतिकूल अवस्थामा उभिएको, कांग्रेस अत्यन्तै प्रतिकुल अवस्थामा उभिएको र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधार स्तम्भको रूपमा रहेको संविधान मासिने अवस्थामा रहेको बताउँदै खड्काले त्यसलाई सुधार गर्न कांग्रेसले मियोको रूपमा काम गर्ने बताए ।















