असोज महिनामा मात्रै विदेशमा ज्यान गुमाएका ९३ श्रमिकको शव ढुवानी

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

वैदेशिक रोजगार बोर्डले असोज महिनामा मात्रै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ९३ श्रमिकको शव ढुवानी गरेको छ।बोर्डले विभिन्न गन्तव्य मुलुकमा मृत्यु भएका श्रमिकको शव घर तथा घाटसम्म ढुवानी गरिदिएको हो।

असोजमा मात्रै ९८ जना मृतक श्रमिकका परिवारले बोर्डबाट आर्थिक सहायता लिएका छन्। बोर्डले श्रम स्वीकृति लिएर गएकाहरू मृत्यु भएको अवस्थामा उनीहरूको परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।

यस्तो रकम श्रमिकहरूले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट दिइन्छ।त्यसैगरी काम गर्ने क्रममा अंगभंग तथा बिरामी भएका ४२ जनाले एक महिनाको अवधिमा बोर्डबाट आर्थिक सहायता लिएका छन्।

बोर्डका अनुसार उद्धार तथा खोजतलासका लागि ३ जनाले निवेदन दिएका छन्। शव झिकाउन २८ जनाले निवेदन दिएका छन्।नेपालबाट वैदेशिक रोजगारीका लागि विश्वका १६० भन्दा धेरै मुलुकहरूमा नेपालीहरू जाने गरेका छ्न्।

यी मुलुकमा काम गर्ने क्रममा अंगभंग भएर तथा ज्यान गुमाएर फर्किनेहरूको तथ्यांक भयावह छ।अधिकांश रोजगारदाता मुलुकमा कार्यस्थल सुरक्षा, बीमा लगायत सुविधा नहुँदा नेपाली श्रमिकहरू मारमा परिरहेका छन्।

  • १० कार्तिक २०८२, सोमबार १४:३९ प्रकाशित