छठको दोस्रो दिन आज ‘खरना’

केन्द्रभाग मिडिया

महोत्तरी ।
छठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दैछन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् ।

बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास ९व्रत० बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने यहाँ परम्परा रही आएको छ । दिनभरिको निराहार उपवास गरेका बर्तालुले कूलदेवता र छठी देवीलाई चढाएको खिर प्रसादस्वरुप खाने चलन छ । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ लोकआस्थाको महापर्व मानिँदै आइएको छ ।

छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन बर्तालुले आत्मशुद्धिका लागि उसिना चामल, लसुनरप्याज, कोदो, मुसुरोसहितका धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्यपरिकार खादैनन् । मैथिली बोलीचालीमा अर्बा ९नउसिनिएको अन्न० खाइने यो विधिलाई ‘अर्बा–अर्बाइन’ पनि भनिन्छ । ‘नहाय–खाय’ र ‘अर्बा–अर्बाइन’ एकअर्कासँग जोडिएका एकै दिनका विधि हुन् ।

श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने बर्तालुले आज सूर्यास्तपछि चन्द्रदर्शनपछि यो विधि सम्पन्न गर्नेछन् । ‘खरना’लाई स्वधर्म र आत्मसंरक्षण तथा पापको नाशको भावमा लिने गरिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्ण बताउछन्।

पर्वको महत्त्वपूर्ण मानिने निराहार व्रत कात्तिक शुक्ल षष्ठी तिथिमा गरिन्छ । यो मुख्य विधि भोलि सोमबार सम्पन्न गरिने तयारी छ । सूर्य उपासनाको निराहार व्रत बसेर बर्तालुले मनमोहक ढङ्गले सजाइएको जलाशय घाटमा पुगेर स्नानसँगै अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।

त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ र ‘पारन’ पनि भनिन्छ । बर्तालुले ‘खरना’ विधिसँगै प्रसादस्वरुप खाएका खिरपछि नै निराहार व्रत सुरु हुन्छ । यो व्रत सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन गरिन्छ । रासस

  • ९ कार्तिक २०८२, आईतवार ११:०५ प्रकाशित