पर्यटकको आगमनले उत्साहित पोखराका व्यवसायी

होटल अकुपेन्सी ९० प्रतिशत, आन्तरिक पर्यटकको हिस्सा ५० प्रतिशत

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा पर्यटकको आगमन बढेसंगै यहाँका व्यवसायी उत्साहित भएका छन् । जेनजी आन्दोनल, दशैंका बेला देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण भएको क्षति लगायतका कारण सुस्ताएको पर्यटन क्षेत्रमा तिहारका बेला पर्यटकको चहलपहल ह्वात्तै बढेसंगै व्यवसायी उत्साहित भएका हुन् ।

पर्यटकको अगमनले आफूहरुलाई उत्साही बनाएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनले चाडपर्वको विदामा भएको पर्यटकको आगमनले आफूहरुलाई निकै उत्साहित बनाएको बताए । ‘चाडबाडमा धेरै नै घुमफिरका लागि पोखरा आउनुभयो । हामी उत्साहित छौं,’ उनले भने ।

उनकाअनुसार शुक्रबार र शनिबार पोखराका होटलहरु भरिभराउ थिए । होटल अकुपेन्सी ९० प्रतिशत हाराहारी रहेको अध्यक्ष सुवेदीले जानकारी दिए ।  पोखरा भित्रिएका पर्यटक मध्य ५० प्रतिशत आन्तरिक पर्यटक हुन् । त्यसैगरी ४० प्रतिशत विदेशी र १० प्रतिशत पर्यटक भारतीय रहेका उनले बताए ।

एक रातमा करिब ४० हजार पाहुना राख्न सक्ने पर्यटकीय स्थतरका होटल रहेकामा अहिले दैनिक ३५ हजारको हाराहारीमा पोखरामा पर्यटक भित्रिएका उनले सुनाए ।

पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समिति संयोजक गोपी बहादुर भट्टराईले पर्यटक आगमन सन्तोषजन भएको प्रतिक्रिया दिए । पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष समेत रहेका उनले जेनजी आन्दोलन र त्यसपछिको घटनाक्रमल पर्यटन क्षेत्रमा नकरात्मक प्रभाव पर्छ भन्ने चिन्ता थियो । विदेशी ग्रुपहरुले धेरै बुकिङ रद्दपनि गरेको अवस्था थियो । तर, पछिल्लो समय स्वदेशी र विदेशी पर्यटकको आगम ह्वात्तै बढ्यो । यसले व्यवसायीमा आसा जगाएको छ’ उनले भने ।

ट्रेकिङ जानेहरुपनि प्रशस्त रहेका र सडकमा समेत पर्यटकको बहाब प्रशस्त देखिएको भन्दै उनले अब पर्यटन व्यवसाय प्रतिकुल अवस्था नआए व्यवसायीले घरभाडा लगायतका समस्या झेल्न नपर्ने अपेक्षा प्रकट गरे ।

रेवान पोखराका अध्यक्ष विश्व पौडेलले दशैंमा बाढीपहिरोका कारण घुम्न नपाएका र जेनजी आन्दोलन लगायतका कारण उकुसमुकुस भएका पर्यटकले विदाको सदुपयोग गर्दा पोखराको पर्यटन क्षेत्र उत्साहित भएको उल्लेख गरे । देशमा शान्ति सुरक्षाको ज्ञारेन्टी हुने वातावरण बन्ने र पर्यटन प्रतिकुल अवस्था नआए देशका लागि समेत पर्यटन क्षेत्रले महत्वपूर्ण योगदान दिने उनको भनाई थियो ।

अहिले २/४ दिन पर्यटक आए भनेर उत्साहित हुनुभन्दापनि दीगोरुपमा पर्यटकको आगमनलाई जोड दिनुपर्ने र त्यसै अनुरुपको वातावारण बनाउनुपर्ने उनले उल्लेख गरे ।

अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जीजम्प, जिप फ्लायरजस्ता साहसिक खेलका कारण नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो पोखरा । यसका साथै अन्नपूर्ण पदयात्रा र मुक्तिनाथको प्रवेशद्वारका रूपमा पनि पोखरा पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय आन्दोलन र प्रतिकूल मौसमले खस्केको पोखराको पर्यटन अहिले मौसममा सुधार र लामो बिदाका कारण पुनर्जीवित भएको हो ।

  • ९ कार्तिक २०८२, आईतवार ०९:५९ प्रकाशित