भारतमा बसमा आगलागी अपडेट : ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो

केन्द्रभाग मिडिया

हेदराबाद ।

दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकल यात्रु बसमा पछाडिबाट ठोक्किएपछि भएको आगलागीमा परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । यस घटनामा अन्य धेरै घाइते भएका छन् ।

आन्ध्र प्रदेश राज्यको कुर्नुल नजिकै राजमार्गमा भएको दुर्घटनामा ४४ यात्रु बोकेको बस तेलङ्गाना राज्यको हैदराबादबाट कर्नाटकको बेङ्गलुरु तर्फ जाँदै थियो ।

बसमा आगो केही मिनेटभित्रै फैलियो र केही यात्रु झ्याल फुटाएर बाहिर निस्कन सफल भए भने धेरैको मद्दत पुग्नु अघि नै जलेर ज्यान गयो । वरिष्ठ प्रहरी अधिकारी विक्रान्त पाटिलका अनुसार मोटरसाइकल बसमा पछाडिबाट ठोक्किँदा स्पार्कले बसको इन्धन ट्याङ्कीलाई भेटेको थियो ।

बस चालकले आगो निभाउने प्रयास गरे पनि आगो नियन्त्रण गर्न नसकेको बताइएको छ । दुर्घटनाको समयमा अधिकांश यात्रु सुतिरहेका थिए । घटनामा बाइक सवार अज्ञात व्यक्तिको पनि मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

फरेन्सिक विज्ञहरूको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका वरिष्ठ अधिकारी एन चन्द्रबाबु नायडूले शोक व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

  • ७ कार्तिक २०८२, शुक्रबार १३:२३ प्रकाशित