‘जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ’ : प्रधानमन्त्री कार्की

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन्।

मंगलबार बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रियासम्मत ढंगले कानुनी रूपमा तल नपर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएकी हुन्।

उनले जेनजी आन्दोलनले दिएको जनादेशअनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन सम्पन्न हुने बताइन्। साथै, प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अनुसन्धान पनि हुने भन्दै राज्यका स्थापित निकायहरूले तीव्र गतिमा भ्रष्टाचारको छानबिन गरिरहेको जानकारी दिइन्।

छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेहरूले भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका थिए। भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि उनीहरूले दिए।

छलफलमा सहभागी सञ्चारमन्त्री जगदीश खरेलले आन्दोलनपछि यसअघिको सरकार र प्रतिनिधिसभा विस्थापित भए पनि पुरानै संरचना कायमै रहेकाले काम गर्न असहज भइरहेको बताए। गृहमन्त्री ओम प्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारेको छानबिनमा भएको कार्यप्रगतिबारे घाइतेहरूलाई जानकारी गराएका थिए।

यद्यपि, घाइतेहरूले जेनजीले उठाएका मुद्दाहरूमा भन्दा सरकारको ध्यान निर्वाचनमा मात्रै गएको भन्दै आपत्ति जनाएका थिए। जेनजी आन्दोलनका क्रममा घाइते भएका रुपिन खड्काको नेतृत्वमा १८ जनाको समूहले प्रधानमन्त्रीसँग छलफल गरेको हो।

  • ४ कार्तिक २०८२, मंगलवार १७:०० प्रकाशित