आन्दोलनरत नर्सहरुले आजदेखि कालोपट्टी बाँधेर काम गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।
न्यूनतम तलब तथा पेसागत हकहितसम्बन्धी विभिन्न माग राखेर आन्दोलनरत नर्सहरुले आजदेखि कालो पट्टी बाँधेर काम गर्ने भएका छन् । आजदेखि निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले कालोपट्टी बाँधेर काम गर्ने नेपाल नर्सिङ संघले जनाएको हो ।

‘आइतबारको औपचारिक वार्ता तत्कालै निष्कर्षमा नपुगे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव प्राडा। श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन साथै सातै प्रदेशमा अनुगमन समिति गठन गरेको विषयलाई स्वागत गर्दै नेपाल नर्सिङ संघ आफ्नो योजनाअनुसार विरोधका चरणबद्ध कार्यक्रम घोषणा गर्दछ।

यस आन्दोलनबाट सर्वसाधरणको स्वास्थ्य सेवामा पर्न जाने असुविधाप्रति हामी क्षमा याचना गर्दछौँ। आन्दोलनबाट उत्पन्न परिणामको सम्पूर्ण जिम्मेवारी सरकार तथा सरोकारवाला निकायले बेहोर्नुपर्नेछ’, स‌ंघले भनेको छ ।

संघका अनुसार आज ४ कात्तिक देखि ११ कात्तिकसम्म देशभरिका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा नर्सहरूले कालोपट्टी बाँधेर काम गर्नेछन् । अनि १२ कात्तिकदेखि १८ कात्तिकसम्म दिनको २ घण्टा बिहान १० देखि १२ बजेसम्म अत्यावश्यक सेवाबाहेकका नर्सिङ सेवा बन्द गरिनेछ ।

यसपछि मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनअनुसार थप कार्यतालिका प्रकाशन गरिने संघले जनाएको छ ।

नेपाल नर्सिङ संघले निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको न्यूनतम तलब सुविधा साथै अन्य पेसागत हकहितसम्बन्धी विभिन्न मागहरू राखेर २५ वैशाख २०८२ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापनपत्र पेस गरेको थियो । यस विषयमा ३१ असोज २०८२ मा मन्त्रालयको पहलमा पहिलोपटक सरोकारवाला पक्षसँग छलफल भएको थियो ।

यसपछि यही २ कात्तिकको आइतबार सम्पूर्ण सरोकारवालासहितको बृहत् बैठकमा संघले १५ बुँदे मागसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

  • ४ कार्तिक २०८२, मंगलवार ११:५१ प्रकाशित