पोखरा ।
गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पोखरा २६ बरालडाँडामा ५५ वर्षका देवबहादुर विश्वकर्मा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
कर्तव्य ज्यान मुद्दाको कैद भुक्तान गरिरहेका विक भदौ २४ गते अरुसँगै भागेका थिए । उनी झुन्डिएको घरमा कोही पनि नरहेको पाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताएका छन् ।
विकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बस्नेतले जानकारी दिए ।















